FAQs Complain Problems

लुन्ग्री परिचय

लुङ्ग्री गाउँ पालिकाको संक्षिप्त चिनारी :

      संघिय गणतन्त्र राज्य नेपालको ५ नं प्रदेश अन्तर्गत रोल्पा जिल्लाको १० वटा स्थानीय तह मध्येको लुङ्ग्री  गाउँपालिका  पनि एक हो | अति सौन्दर्य मनमोहक प्रसिद्ध लुङ्ग्री नदिको नामवाट नामाकरण गरिएको यस गाउँपालिकाको केन्द्र साबिकको वडाचौर गा.बि.स को किलाचौर मा रहेको छ | यस गाउँपालिका रोल्पा जिल्ला सदरमुकाम लिवाङ देखि 35  कि.मि. उत्तर पूर्व तथा सुनिल स्मृति गाउ पालिका को सुलिचौर बजार देखि ६ कि.मि.उत्तर पूर्वमा अवस्थित छ |  

      यस गाउँपालिकाको क्षेत्रफल १३५.२३  वर्ग कि.मि. र जनसंख्या २३६३१  रहेको छ | साबिकका ५ वटा गाउ बिकास समितिहरु (वडाचौर,गुम्चाल,हारजंग,पांग,शिर्प) मिलाएर बनेको यस गाउँपालिकामा हाल सात वटा वडाहरु रहेका छन् | यस गाउँपालिकाको सिमाना पूर्वमा प्युठान, पश्चिममा सुनिल स्मृति गाउ पालिका र सुनछहरी गाउ पालिका, उत्तरमा सुनछहरी गाउ पालिका  र दक्षिणमा प्युठान र सुनिल स्मृति गाउ पालिका रहेका छन् | 

लुङ्ग्री गाउँपालिकाको नामकरण:

        लुङ्ग्री गाउँपालिकाको नामकरण यस रोल्पा जिल्लाको सुनछहरी गाउँपालिकाको उवा र सेरमबाट बहने अति सौन्दर्य मनमोहक नदी लुङ्ग्रीको नामबाट राखिएको हो | तत्कालिन स्थानीय तह पुनर्संरचना समिति रोल्पाको सिफारिस र स्थानीय विकास मन्त्रालयले मिति २०७३ फाल्गुन २७ गते यस लुङ्ग्री गाउँपालिकाको नामकरण गरेको हो |

हावापानी:

      समुन्द्री सतह देखि करिब १३०० मिटर देखि २००० मिटर सम्मको भौगोलिक उचाईमा अवस्थित यस लुन्ग्री गाउ पालिकामा न्यानो समशितोषण हावापानी देखि ठण्डा समशितोषण सम्मको हावापानी पाइन्छ |

तापक्रम र वर्षा:

      यस गाउँपालिकाको सरदर तापक्रम न्यूनतम -५ से. देखि अधिकतम ३२ से. सम्म पुग्दछ |श्रवन र भद्र महिनामा बढी वर्षा हुन्छ भने हिउदमा अति चिसो हुने, तुषारो पर्ने र जनजिवन कस्टकर हुने गर्दछ |  

भेषभुषा  र संकृति (Costume and Jewellery):

      यस गाउँपालिकामा मगर र  क्षेत्री समुदायको  बसोबासको बाहुल्यता भएपनि बहुसंख्यक जनताले नेपाली भाषा बोल्ने तथा मगर रहन सहनलाई अपनाएको देखिन्छ | यहाका क्षेत्रीहरुले (बुढापाखाहरुले) मगर समुदायको भेषभुषा अंगालेको पाइन्छ| मगर समुदायको भेषभुषा विश्वमै दुर्लभ र राम्रो रहेको छ| क्षेत्री तथा मगर समुदायका बुढापाखाहरुले  शिरमा टोपी, कम्मरमा पटुका साथै महिलाहरुले मखमली चोली,गुन्यू,गादा,पहेलो पटुकी,गलामा हरियो,पहेलो पोते,मुगामाला चौआनी(चादीको),नाडीमा बाला आदि भेषभुषा अंगालेको   पाइन्छ |

बसोबास:

      यस लुन्ग्री गाउ पालिकामा प्राय जसो मगर र क्षेत्री समुदायको बाहुल्यता रहेको छ | यस बाहेक बाहुन, क्षेत्री,दशनामी, गुरुङ र दलित समुदायको पनि बसोबास छ |

सांकृतिक,चाडपर्व,संकार र परम्परा(Culture,Festival,Ritual & Tradition):

       यस गाउँपालिका समुदायको संस्कृतिमा पनि निकै धनि रहेको छ| अन्य जातिले पनि मगरको संस्कृतिलाई अंगालेको पाइन्छ | आदीवासी जनजाति समुदायमा शुभ साइत  वा काममा निधारमा दहि र सेतो चामलको टीका  लगाउने चलन छ | सेतो टीकाले निश्चल,निस्कपट र पवित्रताको प्रतिक लेकमा टल्कने हिउँको शोभालाई अनुकरण गरेर आफु पनि पहाड र हिउँ जस्तै निडर तथा स्वाभिमानीको प्रतीकको रुपमा लिईन्छ| क्षेत्री/ब्राहमण समुदायले शुभ साइतमा निधारमा रातो टीका, शुभको प्रतिक कलास मुल ढोकामा राखेर शुभ यात्रा गर्ने चलन छ |

सामाजिक जनजीवन:

         यस गाउँपालिकामा मुख्य गरी अधिकांश मानिसहरुले दशैँ,तिहार,माघे संक्रान्ति,चैते दशैँ आदी पर्वहरु हिन्दु परम्परा अनुसार मनाउने गर्दछन | बिबाह परम्परा केटा केटीले मन पराएर केटाले भगाएर  आफ्नो घरमा लिने चलन छ भने बिबाह भएको १/२ बर्ष पछि माइती मान्न जाने चालन छ | केहि समुदायमा हिन्दु परम्परा अनुसार कुल पुज्दा (देवाली) नहुदा सम्म बिहानको भैसीको दुध बिहान खाने चलन छैन तर बेलुकीको दुध खाने चलन छ | यस गाउँपालिका जन्म र मृत्यु परम्परा, हिन्दु अनुसारनै छ | बच्चा जन्मेको छैटौ दिनमा छैटी गर्ने  र ब्राहमणलाई बोलाई न्वारण गरी बच्चाको नाम राख्ने चलन छ |मृत्युमा १३ दिन सम्म जुठो बार्ने चलन छ |